मेची भन्सारको राजश्व लक्ष्यभन्दा कम
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ३, शुक्रबार
मेची भन्सार कार्यालय झापाले गत आव २०७५÷७६ मा लक्ष्यको तुलनामा १५ प्रतिशतले राजश्व सङ्कलनमा कमी भएको जनाएको छ । भारतको कोलकाताबाट आयात हुने कोइला, क्लिङ्कर गत चैतबाट ठप्प भएको र बङ्लादेशबाट आउने जुससमेत राजश्व वृद्धि भएको भन्दै व्यापारीहरुले ल्याउन बन्द गरेपछि राजश्व सङ्कलनमा कमी आएको प्रमुख भन्सार अधिकृत टेकनारायण अर्यालले बताउनुभयो ।
भन्सारले गत आवका लागि रु ११ अर्ब ८२ करोड ६१ लाख एक हजार राजश्व सङ्कलन हुने लक्ष्य राखेको थियो । उक्त आवमा रु १० अर्ब नौ करोड ९५ लाख ७३ हजार मात्र राजश्व असुली गर्न भन्सार सफल भएको अधिकृत अर्यालले बताउनुभयो । यो रकम लक्ष्यको तुलनामा १५ प्रतिशत कम हो ।
भन्सारले गत अघिल्लो वर्ष २०७४÷७५ को तुलनामा भने राजश्व तीन दशमलव ६९ प्रतिशतले बढी सङ्कलन गरेको जनाएको छ । कार्यालय प्रमुख अर्यालका अनुसार अघिल्लो वर्षको लक्ष्य नौ अर्ब २० करोड ९१ लाख ४१ हजार रहेको थियो भने रु नौ अर्ब ७४ करोड तीन लाख ६१ हजार असुली गरेको थियो । भन्सार अधिकृत अर्यालले गत वर्षको तुलनामा राजश्व वृद्धि भएको बताउँदै भन्नुभयो, “पूर्वी नाकाबाट आयात हुने कोइला, पेट्रोलियम पदार्थ, क्लिङ्कर, टायल्सलगायतका सामग्रीमा कमी हुँदा गत आर्थिक वर्षको राजश्व प्रभावित भएको हो ।”
Categorized in राष्ट्रिय


