समयमा निर्माण कार्य सम्पन्न नभए कालोसूचीमा राख्न सुझाव
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १८, बुधबार
चिकित्सा अध्ययन संस्थान महाराजगञ्ज परिसरमा निर्माणाधीन ‘सुरेश वाग्ले स्मृति केन्द्र’ भवनको बाँकी काम शुरु भएको छ ।
प्रतिनिधिसभा अन्तर्गतका शिक्षा तथा स्वास्थ्य समितिले भवनका बारेमा चासो लिई पटक–पटक स्थलगत अनुगमन र सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएपछि ठेकेदार कम्पनीले बल्ल बाँकी काम शुरु गरेको हो ।
सम्झौता भएको आठ वर्ष बित्न लाग्दा पनि ठेकेदार कम्पनीले विविध बहाना देखाई सो भवनको निर्माणमा ढिलासुस्ती गर्दै आएको थियो । समितिको आजको बैठकमा समितिका सदस्य एवं समितिद्वारा सो भवनका बारेमा अध्ययन गर्न गठित कार्यदलका संयोजक अञ्जना विसङ्खेले भन्नुभयो, “भवनको बाँकी काम बल्ल शुरु भएको देखियो । ”
ठेकेदार कम्पनीका अनुसार सो भवनको ६५ देखि ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । बाँकी काम तेस्रो भेरिएशन अनुसार हुने जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसं २०६८ मङ्सिर २८ गते तीन वर्षभित्रै सम्पन्न गर्ने गरी निर्माण कम्पनीसंग सम्झौता गरेको थियो । निर्माण सम्पन्न हुनुपर्ने अन्तिम मिति २०७१ साल मङ्सिर २७ गतेसम्म थियो । सम्झौता रकम मूल्य अभिवृद्धि करसहित रु ५५ करोड ५१ लाख २८ हजार ६४० थियो तर समयमै निर्माण पूरा नभएपछि मन्त्रालयले २०७२ साल मङ्सिर २७ गते एक वर्षसम्मका लागि म्याद थप गरेको थियो ।
दोस्रो पटक थपिएको म्यादमा पनि निर्माण सम्पन्न नभएपछि मन्त्रालयले तेस्रो पटक २०७३ साल चैत ११ गते पुनःम्याद थप गरेको थियो । तेस्रो पटक म्याद थप गर्दा समेत ‘म्याद थप भएको मितिले ११ महीनाभित्र अनिवार्य रूपमा कार्यसम्पन्न गर्ने गरी अन्तिम पटकका लागि म्याद थप गर्ने र थपिएको म्यादभित्र पनि उक्त निर्माण सम्पन्न नभएमा नियमानुसार क्षतिपूर्ति असुल गर्ने गरी कार्यान्वयन गर्न समेत स्वीकृत दिने निर्णय गरिएको थियो ।
अर्कोतर्फ शहरी विकास मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई भवन निर्माणको कार्यप्रगतिबारे २०७४ साल चैत १६ गते यस्तो जानकारी दिएको थियो । जानकारी पत्रमा ‘२०७४ सालको चुनाव र निर्माणस्थलमा दुर्घटना भई एक कामदारको मृत्यु भएका कारण काममा अवरोध भएकाले पुनः एक पटकका लागि म्याद थप हुन अनुरोध भई आएको थियो । तर पटक–पटक म्याद थप भएको समयमा पनि निर्माण सम्पन्न नभएकाले भेरिएशन स्वीकृत र म्याद थपको प्रक्रिया अगाडि बढ्न सकेको थिएन् ।
निर्माण व्यवसायीले भवनको कूल भेरिएशनमा दश प्रतिशत लागत बढाएको छ । अहिले भवनको लागत रु ६१ करोड २१ लाख ८७ हजार ५८७ पुगेको छ । स्वास्थ्य मन्त्रालयले वहुवर्षीय योजनाअन्तर्गत सो भवन निर्माणलाई राखेको थियो ।
Categorized in राष्ट्रिय


