STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

डेङ्गुका कारण आपतकाल घोषणा गर्नुपर्दैन ःउपप्रधानमन्त्री यादव

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १, बुधबार

उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले डेङ्गु रोगका कारण आपत्कालीन अवस्थाको घोषणा गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिनुहुँदै उहाँले स्वास्थ्य मन्त्रालय महामारी नियन्त्रण गर्न सक्षम रहेकाले आपत्कालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नदेखिएको जानकारी गराउनुभयो । पछिल्ला दिनहरुमा रोगीको सङ्ख्या घट्दै गएको अभिलेख रहेको उपप्रधानमन्त्री यादवले सुनाउनुभयो । १५ वर्ष अघि २०६१ मा चितवनमा देखा परेको डेङ्गु हाल ५६ जिल्लामा फैलिएको उहाँको भनाइ थियो । “पाँच हजारभन्दा बढी मानिस यो रोगबाट प्रभावित भएका छन्, ६ जनाको निधन भएको छ, विश्वमै चुनौतीका रुपमा देखापरेको यो रोगको मुख्य कारण अव्यवस्थित शहरीकरण हो, लामखुट्टेबाट सर्ने अन्य रोग जापानी इन्सेफ्लाइटिसलगायत निर्मूल हुने चरणमा छ, औलोका कारण मृत्यु शून्यमा झरेको छ” । उहाँले भन्नुभयो । खोज र नष्ट गर अभियानका लागि तीन तहका सरकारले जनचेतना अभियान चलाइरहेकोे, प्रभावित जिल्लामा ११ हजार किट पठाइएको मन्त्री यादवले जानकारी दिनुभयो । उहाँले बढी प्रभावित धरान, इटहरी, विराटनगर, पोखरालगायत स्थानमा विशेष सफाइ अभियान सञ्चालन गरिएको बताउनुभयो । डेङ्गु सहयोग कक्षको स्थापना, ज्वरो आएकाको निःशुल्क रक्तपरीक्षण गरिएको, टेकुमा २० श्यया डेङ्गु प्रभावितका लागि छुट्याइएको, विद्यालयमा जनचेतनामूलक खोज र नष्ट गर अभियान चलाउन थालिएको उहाँले बताउनुभयो । बैठकमा सांसद देवेन्द्रराज कँडेलले ५६ जिल्लामा डेङ्गु फैलिँदा पनि किन महामारीका रुपमा आपत्कालीन अवस्थाको घोषणा नगर्ने भनी प्रश्न राख्नुभएको थियो । सांसदहरु सुजाता परियार, खगराज अधिकारी, रामबहादुर विष्ट, दिलेन्द्रप्रसाद बडू, अमनलाल मोदी, पुष्पा भुसाल, प्रेम सुवाल, पार्वता डिसी चौधरी, देवप्रसाद तिमल्सिना, मीना सुब्बा, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्रकुमार केसी, नवीना लामाले देशभर फैलिएको रोगका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
Categorized in राष्ट्रिय