दुर्गा प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी, प्रसाईँ फरार
Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १६, शनिबार
काठमाडौँ - राजावादी अभियानमा संलग्न राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंविरुद्ध उजुरी परेको छ।
मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले उनीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् । उक्त उजुरी शुक्रबार ब्युरोमा दर्ता भएको छ ।
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गरी गलत सूचना तथा घृणास्पद अभिव्यक्ति फैलाएको आरोप प्रसाईमाथि छ ।
उजुरीमा दुर्गा प्रसाईका अनलाइन अभिव्यक्ति तथा गतिविधिको छानबिन गर्न, नेपाल साइबर अपराध ऐन उल्लङ्घन गरेको आरोपमा आवश्यक कानूनी कारबाही गर्न, समुदायलाई थप हानि पुग्न नदिन यस्ता घृणास्पद अभिव्यक्ति र गलत सूचनालाई रोक्न आवश्यक कदम चाल्न माग गरिएको पन्तले बताए ।
प्रसाईँ फरार
पूर्वराजा फर्काउने उद्घोषसहित काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने कमान्डर मध्येका दुर्गा प्रसाईँ फरार भएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले शुक्रवार आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेसँगै दुई जनाको मृत्यु भएको छ ।
प्रसाईंको खोजी भइरहेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए । प्रहरीका विभिन्न युनिटका अधिकृतहरूले उनको खोजी तीव्र बनाएका छन् ।
संयोजक दुर्गा प्रसाईं आफैँले सवारी चलाएर सुरक्षाकर्मीलाई मार्ने नियतले सवारी चलाएपछि तीनकुनेको स्थिति हिंसात्मक भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले बताए । उनले भने, ‘तोडफोड र लुटपाटमा संलग्नहरूबारे सूक्ष्म निगरानी गरिरहेका छौँ, आपराधिक काममा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याउँछौँ ।’
Categorized in राजनीति

