STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पानीको बहाव बढ्दा तारउतार सेवा बन्द

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २, सोमबार

डडेल्धुराको परशुराम नगरपालिका–६ सिसमजालामा सञ्चालित तारउतार डुङ्गा, ट्युब सेवा बन्द गरिएको छ । 
महाकाली नदीमा पानीको बहाव बढ्न थालेपछि वडा कार्यालयद्वारा सञ्चालित तारउतार सेवा असोजसम्मका लागि बन्द गरिएको सो कार्यालयले जनाएको छ ।
परशुरामको सिसमजालास्थित नेपाल–भारत आवतजावत गर्न प्रयोग गरिने तारउतार सेवा बर्खायाम शुरु भएसँगै बन्द गर्ने निर्णय गरिएको वडाध्यक्ष खगेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।
सो नाकाबाट दैनिक सयौँको सङ्ख्यामा यस क्षेत्रका नागरिक भारतबाट सामान आयात निर्यात गर्ने गर्दछन् । वर्षायाममा पानीको बहाव बढ्ने भएकाले दैनिक उपभोग्य सामग्री लिन भारततर्फ जाने नागरिकका लागि यात्रा खतरा हुने भन्दै सो तारउतार सेवा बन्द गरिएको वडा कार्यालयले जनाएको हो । 
वर्षांैदेखि महाकाली नदीमा पक्की पुल निर्माण गर्न विभिन्न राजनीतिक दलहरुले मुख्य एजेण्डाका रुपमै उठाए पनि अहिलेसम्म कुनै पहल नहुँदा यहाँ नागरिक जोखिम मोलेर भएपनि बर्खायाममा डुङ्गा तथा ट्युबमा यात्रा गर्न बाध्य छन् । 
तारउतार सेवा बन्द गरेसँगै वडाध्यक्ष सिंहले सिसमनजालामा झोलुङ्गे पुलका लागि पहल गर्ने जनाएका छन् । सशस्त्र द्वन्द्वका क्रममा विस्थापित छोटी भन्सार कार्यालय हालसम्म पुनःस्थापना हुन नसक्दा भित्री मधेश क्षेत्रबाट वर्षेनी करोडौँ राजस्व छली हुने गरेको छ । 
सीमावर्ती भारतीय बजार टनकपुरबाट दिनहुँ लाखौँ मूल्य बराबरका भारतीय सामान विनाभन्सार भित्रिँदा राजस्व छलीसमेत हुने गरेको सरोकारवालाहरु बताउँछन् । 
Categorized in राष्ट्रिय