STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ढिकीजाँतो हराए

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १९, बिहिबार

रुकुम पूर्व का गाउँमा सञ्चालन हुँदै आएको बिजुलीको विस्तारसँगै स्थापित आधुनिक मिलले गर्दा यहाँका ढिकी तथा जाँतो लोप हुँदै गएका छन् । गाउँगाउँमा धान कुट्ने, गहुँ, मकै, तोरी पिस्ने मिल भित्रिएकाले पुराना ढिकी तथा जाँतो लोप हुँदै गएका हुन् । एकदशकअघिसम्म जिल्लाको सबै ठाउँमा लोकप्रिय रहेको ढिकी र जाँतो विद्युत विस्तार भएसँगै पूर्ण विस्थापित भएको त्यस क्षेत्रका बासिन्दा बताउँछन् । रुकुमकोटमा आजभन्दा १० वर्ष पहिले प्रत्येकको घरमा जाँतो र टोलमा दुई तीन वटा ढिकी हुने गरेको सिस्ने गाउँपालिका– ५ का पूर्णबहादुर बुढामगरको भनाइ छ । बुढामगर भन्नुुुहुन्छ, “पहिलेपहिले गाउँमा बिजुली नआउँदा र मिल स्थापना नहुँदा प्रत्येकले आआफ्नो घरमा गहुँ, मकै, सिमी जाँतोमा पिस्ने गथ्र्यो भने धान कुटाउन ढिकीमा जात्रै लाग्ने गर्दथ्यो, हिजोआज भने कसैको घरमा पनि जाँतो र ढिकी देख्नै पाइँदैन ।” पुथा उत्तरगङ्गाका बृद्ध हेमन्त पुन हिजोआज गाउँमा ढिकीजाँतो विस्थापित भएकामा असन्तुष्टि जनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विगतमा गाउँघरमा ढिकीजाँतो चल्दा र तिनको आवाज सुन्दा पनि रमाइलो लाग्थ्यो तर अहिले गाउँघरमा ढिकी घर भत्किसकेका छन्, जाँतो उखेलेर फालिसके अब मिलको जमाना आयो, हिजोका ती प्रविधि बन्द हुँदा गाउँ नै सुनसान भएजस्तो लाग्छ ।” गाउँघरमा दशैँ, तिहारको समयमा र विवाहलगायत विभिन्न कार्य हुँदा सामूहिकरुपमा ढिकीमा धान कुट्ने कार्यले गाउँघर नै रमाइलो हुने गथ्र्यो । आज नयाँ प्रविधिका कारण पुराना प्रविधि विस्थापित भएपछि गाउँघर नै सुनसान हुन पुगेको सिस्ने– ५ का अर्का बद्ध गम्भीर थापा बताउनुहुन्छ । अब नयाँ प्रविधिले गर्दा हिजोका ढिकी र जाँतो विस्तारै इतिहास बन्न पुगेको जिल्ला उद्योग वाणिज्य सङ्घ रुकुमपूर्वका अध्यक्ष यज्ञप्रकाश मल्लको भनाइ छ । भूमे गाउँपालिका–२ का हरिमगर भन्नुहुन्छ, “आफूहरुले हाल गाउँघरमा विद्युत्बाट चल्ने मिलबाट धान, गहुँ तथा मकै पिस्ने गरेका छौँ, नयाँ प्रविधिको आगमनले ढिकीजाँतो चलाउन छोडिएको छ ।” गाउँगाउँमा बिजुली विस्तार भएको र विद्युत् नपुगेको स्थानमा पनि मिल स्थापना गरेर वैकल्पिक इन्धनबाट मिल चलाउन थालिएकाले अब जिल्लाको सबै क्षेत्रमा पुराना प्रविधि विस्तारै विस्थापित हुँदै गएको गाउँलेहरु बताउँछन् । अन्नबाली ढिकी र जाँतोमा कुटानीपिसानी गर्दा लामो समयसम्म टिकाउ हुने, स्वादिलो हुने र पौष्टिक तत्व नाश नहुने भएकाले पनि यी परम्परागत प्रविधि संरक्षण हुनुपर्नेमा सम्बद्ध व्यक्ति जोड दिन्छन् ।
Categorized in विचार