STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अज्ञात रोगबाट २१ बाख्रा मरे

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ७, मंगलबार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा एकै दिन अज्ञात रोगका कारण २१ बाख्रा मरेका छन् । घाँस खाएपछि एकपछि अर्को गरी बाख्रा मर्न थालेपछि बाख्रपालक किसान चिन्तित भएका छन् । कराउने, थरथरी काम्ने, मुखबाट ¥याल फालेर बाख्रा मर्ने गरेको स्थानीयवासीले बताएका छन् । स्थानीय बाख्रापालक प्रेम धानुकको मात्रै सोमबार नौ बाख्रा मरेका छन् । “भमरभोज टोल र पारिफाँटाका बाख्रापालकका बाख्रा मरेका छन्”, वडाध्यक्ष बहादुरसिंह महराले भन्नुभयो, “धेरै बाख्रा मरेको भन्ने खबर आएको छ, विवरण सङ्कलन भइरहेको छ, धमाधम बाख्रा मर्न थालेपछि स्थानीय बासिन्दालाई बाख्राको मासु नखान भनेका छौँ ।” मरेका बाख्रालाई खाल्डोमा राखेर पुर्न लगाइएको उहाँले बताउनुभयो । एकपछि अर्को बाख्रा मर्न थालेपछि निकै क्षति व्यहोर्नुपरेको बाख्रापालक धानुकले बताउनुभयो । मरेका बाख्राको नमूना सङ्कलनको कार्यसमेत गरिएको छ । पशुरोग अन्वेषण प्रयोगशाला धनगढीका कार्यालय प्रमुख डा विष्णु धिताललगायत तीन प्राविधिकको टोली र पशु अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका वरिष्ठ पशु चिकित्सक डा पानसिंह ठगुन्नाको टोलीले मरेका दुई बाख्राको परीक्षण गरी नमूना सङ्कलन गरेको शुक्लाफाँटा नगरपालिका पशु स्वास्थ्य शाखाका प्रमुख पशु अधिकृत रामदत्त भट्टले बताउनुभयो । मथे नामक घाँस खुवाइएपछि धमाधम बाख्रा मरेको जानकारीका आधारमा पशु विज्ञले सो घाँसमा एक प्रकारको विषाक्त रसाइन पाइने हुनाले नखुवाउन बाख्रापालकलाई सुझाव दिएका छन् । परीक्षण गरिएका बाख्रामा एक प्रजातिको जुकासमेत पाइएकाले जुकाको औषधि र लिभरटनिक खुवाउन सल्लाह दिएका छन् । “मरेका बाख्राबाट लिइएका नमूनाको प्रयोगशालामा परीक्षणपश्चात मात्रै यो कारणले बाख्राको मृत्यु भएको जानकारी हुनसक्ने छ । यसका लागि एक दुई दिन लाग्न सक्छ”, अधिकृत भट्टले भन्नुभयो ।
Categorized in राष्ट्रिय